Sunday, June 19, 2022

भद्रकाली युवा क्लबको वृहत रक्तदान कार्यक्रम सम्पन्न

 रत्ननगर असार ५- चितवनको रत्ननगरमा रहेको भद्रकाली युवा क्लबले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आईतबार सम्पन्न भएको छ । चितवनका अस्पतालहरुमा देखिएको चरम रक्तअभावलाई मध्यनजर गर्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रत्ननगर १६ को भद्रकाली मन्दिर परिसरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।



कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले युवा क्लबले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए ।



क्लबका अध्यक्ष निराजन घिमिरेले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र अस्पतालहरुमा रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।



Friday, June 17, 2022

काठमाडौँमा मनायो चितवन खबर पत्रिकाले ११ औँ वार्षिकोत्सव

काठमाडौँ । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय ११ वार्षिकोत्सव काठमाडौँमा एक भब्य कार्यक्रम गरेर मनाएको छ । छापा पत्रकारिताको दुनियाँमा एक दशकदेखि अनवरत रूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका हो ।


शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो ।वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह 'राजा' ले मोफसलमा रहेर विभिन्न चुनौतीका बिच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गरे । मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । उनले विगत एक दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । आगामी दिनमा पत्रिकाले सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रूपमा सदैव स्थापित हुने विश्वास व्यक्त गरे ।



कार्यक्रममा नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गरिन् । उनले आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।

कार्यक्रमको सभापति एवम् पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति कार्कीले आभार प्रकट गरे । महाप्रबन्धक कार्कीले पत्रिकाले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको बताए ।

त्यस्तै नेपाली सांगीतिक क्षेत्रका चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गर्नुभयो ।

कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक समाजसेवी गोविन्द राज पाण्डे, कलाकार कमल खड्का, चलचित्र पत्रकार मनिष कार्की लगायत नागरिक अगुवा , शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिका सँगै अनलाइन संस्करण इ चितवन खबर डट कम मार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ ।



Wednesday, March 9, 2022

बैशाख १६ मा सौगात र दियाको 'मन्त्र'

 

भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’ बैशाख १६ मा आउने भएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस दिन काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् । यो चलचित्र यस अघि माघ २८ मा प्रदर्शन गरिने भनिएको थियो तर कोरोना कहरले गर्दा प्रदर्शन हुन सकेको थिएन । 
हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको निर्माण पक्षले बताएको छ। चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा कार्यकारी निर्माता देबेन्द्र मानन्धर बिश्वस्त रहेका छ्न् । 
 खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ मा सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा बुद्दि तामाङ, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । 
साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।




 

Thursday, March 3, 2022

रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन

रत्ननगर । 

टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । 


 रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो । विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । समग्र चितवनको आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा सामाग्री किनमेल गर्नको लागि व्यवसायिक स्टलहरुमा भीड लाग्ने गरेको छ । घरायसी प्रयोजनको लागि चाहिने सामाग्री खरिदमा मान्छेहरुको भीड लागेको हो । 


 वालउद्यान,जीप साइकलिङ,जीपलाइन सफारीमा पनि मान्छेको आर्कषण रहेको छ । फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा ४२५ स्ट रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । 



रत्ननगर महोत्सवमा खुल्ला भलिबल प्रतियोगिता

रत्ननगर १९ फागुन । 

रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ । 


 

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत खेलकुदको विकास गर्ने उद्देश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । 

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख १००,दोस्रो हुने टिमलाई ५५ हजार,तेस्रो हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई १० हजार पुरस्कार राशी रहेको खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

Sunday, February 27, 2022

टिकौलीमा सुरु भयो रत्ननगर महोत्सव,प्रदेशमन्त्रीद्धारा उद्घाटन

रत्ननगर । कोभिडका कारण स्थगित भएको रत्ननगर महोत्सव आइतबार देखि सुर भएको छ । महोत्सवको ११औं संस्करण टिकौली चौरमा सुरु भएको हो । गत पौष २७ गते सुरु हुने भनिएको महोत्सव कोरोनाको तेस्रो लहरका कारण स्थगित भएको थियो । रत्ननगर उद्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवको भव्य उद्घाटन गरिएको छ । विभिन्न संघसंस्थाको उपस्थितिमा हात्ती सहितको शोभायात्राबाट सुरु गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री मिलनबावु श्रेष्ठले गरेका हुन् ।

फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानिय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४२५ स्टलहरु रहेको छ । यसपटकको महोत्सवमा करिब १५ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ ।

 


व्यवसायीहरुले महोत्सवलाई एउटा अवसरको रुपमा लिने पनि बताएका छन् । कोरोनाले गर्दा सुस्ताएको व्यापारलाई महोत्सवले केही हदसम्म भएपनि उकास्नेमा उनीहरु विश्वस्त रहेका छन् ।

स्थगित भएको महोत्सवलाई एउटा अवसरको रुपमा हेरिरहदाँ स्टेजमा भने अतिथि नेताहरुले एमसिसिको बारेमा मत जाहेर गरिरहेका थिए । देशकै एउटा मुद्दाको रुपमा रहेको एमसिसिको पक्ष र विपक्षमा नेताहरु बिच भनाभन नै भयो । काँग्रेसका नेता तथा पूर्व शिक्षामन्त्री शेषनाथ अधिकारीले एमसिसी नेपालको हितको लागि भएको बताए । अनुदानको रकमले गरिबी निवारणका साथै देशको विकासमा सघाउँ पुग्ने उनले प्रस्ट पारे ।

एमालेका नेता तथा पूर्व प्रदेश मन्त्री दावादोर्जे लामाले भने एमसिसी स्विकार्न नसकिने बताए । एमसिसि देश हितको लागि नभएको पनि उनले बताए । माओवादी केन्द्रकी नेतृ तथा प्रदेश साँसद कन्चन खनालले एमसिसीका विरुद्धमा खबरदारी गर्नुपर्ने बताइन् । एमसिसीको विरुद्धमा जनस्तरबाट नेताहरुलाई खबरदारी गर्न आवश्यक छ रहको पनि उनले बताइन् ।

कार्यक्रममा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकुष्ण श्रेष्ठले उद्योगमा लगानीको बाताबरण सृजना गर्न राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, प्रदेश मन्त्री कृष्णप्रसाद भूर्तेल,उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने,चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

 

भोलीदेखि चिकेन एण्ड एग फुड फेष्टिबल

रत्ननगर । 

 चितवनको रत्ननगरमा भोली सोमबार देखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुदैछ ।


 

 रत्ननगर महोत्सव अन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसंगै जोडिएको ठाँउमा फेष्टिबल आयोजना गरिएको हो । आयोजक रत्ननर उद्योग बाणिज्य संघले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पोल्टीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अण्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेष्टिबल आयोजना गरिएको संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । 

२५ वटा स्टल रहने फुड फेष्टिबलमा २० वटा अण्डा र १० वटा कुखुराको मासुको परिकार उपलब्ध गराउने फुड फेष्टिबल राजेन्द्र कुमार श्रेष्ठले बताए । कुखुराको मासु र अण्डाको लगवा माछा र बुंगुरको परिकार सहित नेवारी,थारु समुदायका खानाका परिकार समेत उपलब्ध हुने उनले बताए । संघका अध्यक्ष अनिककृष्ण श्रेष्ठले पोल्ट्री र माछाको खपत बढाउने र उपभोगबाट हुने फाइदाका विषयमा जानकारी दिने उद्देश्यले फुड फेष्टिबल आयोजना गरिएको बताए । फुड फेष्टिबल वागमती प्रदेशका पशुपंछी विकासमन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्नेछन ।

 पत्रकार सम्मेलनमा संघका बरिष्ट उपाध्यक्ष शंकर गिरी,पूर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष हरिकृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । फेष्टिबलमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने छ ।