टिकौलीमा सुरु भयो रत्ननगर महोत्सव,प्रदेशमन्त्रीद्धारा उद्घाटन

रत्ननगर । कोभिडका कारण स्थगित भएको रत्ननगर महोत्सव आइतबार देखि सुर भएको छ । महोत्सवको ११औं संस्करण टिकौली चौरमा सुरु भएको हो । गत पौष २७ गते सुरु हुने भनिएको महोत्सव कोरोनाको तेस्रो लहरका कारण स्थगित भएको थियो । रत्ननगर उद्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवको भव्य उद्घाटन गरिएको छ । विभिन्न संघसंस्थाको उपस्थितिमा हात्ती सहितको शोभायात्राबाट सुरु गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री मिलनबावु श्रेष्ठले गरेका हुन् ।

फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानिय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४२५ स्टलहरु रहेको छ । यसपटकको महोत्सवमा करिब १५ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ ।

 


व्यवसायीहरुले महोत्सवलाई एउटा अवसरको रुपमा लिने पनि बताएका छन् । कोरोनाले गर्दा सुस्ताएको व्यापारलाई महोत्सवले केही हदसम्म भएपनि उकास्नेमा उनीहरु विश्वस्त रहेका छन् ।

स्थगित भएको महोत्सवलाई एउटा अवसरको रुपमा हेरिरहदाँ स्टेजमा भने अतिथि नेताहरुले एमसिसिको बारेमा मत जाहेर गरिरहेका थिए । देशकै एउटा मुद्दाको रुपमा रहेको एमसिसिको पक्ष र विपक्षमा नेताहरु बिच भनाभन नै भयो । काँग्रेसका नेता तथा पूर्व शिक्षामन्त्री शेषनाथ अधिकारीले एमसिसी नेपालको हितको लागि भएको बताए । अनुदानको रकमले गरिबी निवारणका साथै देशको विकासमा सघाउँ पुग्ने उनले प्रस्ट पारे ।

एमालेका नेता तथा पूर्व प्रदेश मन्त्री दावादोर्जे लामाले भने एमसिसी स्विकार्न नसकिने बताए । एमसिसि देश हितको लागि नभएको पनि उनले बताए । माओवादी केन्द्रकी नेतृ तथा प्रदेश साँसद कन्चन खनालले एमसिसीका विरुद्धमा खबरदारी गर्नुपर्ने बताइन् । एमसिसीको विरुद्धमा जनस्तरबाट नेताहरुलाई खबरदारी गर्न आवश्यक छ रहको पनि उनले बताइन् ।

कार्यक्रममा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकुष्ण श्रेष्ठले उद्योगमा लगानीको बाताबरण सृजना गर्न राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, प्रदेश मन्त्री कृष्णप्रसाद भूर्तेल,उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने,चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

 

Comments