रत्ननगरका विपन्न किसानलाई अनुदानमा गाई

रत्ननगर १३ माघ । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक अबस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ । 



पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो ।

किसानलाई गाई वितरणको लागि सो नगरपालिकाको नवौं नगर सभाले एक करोड रुपैया विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र किसानको एक करोड गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । विहीबार १६ जना किसानलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको छ । 

सो नगरपालिकाले गाईसंगै गोठ सुधारको लागि १० हजार रुपैया समेत प्रदान गरेको छ । नगरपालिकाले प्रदान गरेको १० हजारमा किसानले १० हजार थप गरी २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ । गाईको सवालमा किसानले कम्तिमा ८० हजार मुल्य बराबरको गाई खरिद गर्नुपर्छ । विहान बेलुका गरी कन्तिमा १० लिटर दुध दिने र सो गाई पूर्ण रुपमा स्वस्थ्य हुनुपर्ने पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए । 

नगरपालिकाले किसानको आर्थिक अबस्था मुल्याङकन गरी पशुपालनबाटै जीविका चलाउछु भन्ने विश्वास भएको किसानलाई मात्र गाई वितरण गर्ने उनले जानकारी दिए । मेयर नारायण वन,उपमेयर विमला दुवाडीले नगरपालिकाको प्राङ्गढमा किसानलाई गाई हस्तान्तरण गरेका छन् । अनुदानमा गाई पाएपछि किसानहरु उत्साहित भएका छन् ।

रत्ननगर १३ अमेलियाकी किसान पदमकुमारी न्यौपानेले यस अघि नगरपालिकाले दिएको अनुदान रकमबाट बाख्रापालन गरी जीविकोपार्जन गरेको र अहिले गाई समेत पाउदा खुसी लागेको बताइन । उपमेयर दुवाडीले नगरको गौरबको योजना अन्तर्गत किसानलाई गाई वितरण सुरु गरिएको बताइन । 

मेयर वनले सुत्केरी पशुलाई भत्ता पछि किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानहरुको पहिचान गरी गाई वितरण गरिएको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,नेकपा एमालेका नगर सचिव शिवराज सुवेदी,नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए । 


 







Comments