Saturday, January 29, 2022

जागृति टोलको साधारण सभा, सन्तोष अधिकारी सहितको युवा टिम चयन

१५ माघ, शनिवार
रत्ननगर

 

रत्ननगर १० को जागृति टोल बिकास संस्थाले सत्रौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न गरेको छ । 

 साधारण सभा उद्घाटन सत्रको अध्यक्षता टोल बिकास संस्थाकी अध्यक्ष शोभा धितालले गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि वडा नं १० का वडा अध्यक्ष केशव आचार्यले जागृति टोलले वडाको बिकासमा रचनात्मक भूमिका खेलेकोमा प्रशंसा ब्यक्त गरे ।
सत्य साई केन्द्र बाग्मति प्रदेश सदस्य तथा टोल सदस्य संजय बरालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
संस्थाको गतिविधि तथा आगामी कार्ययोजना टोल बिकास संस्थाका तर्फबाट निवर्तमान अध्यक्ष सुजन बरालले पेश गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, टोल सल्लाहकार देवी दवाडी, उन्नति टोलका अध्यक्ष यमप्रसाद भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिक आय ब्यय प्रतिबेदन संस्थाका कोषाध्यक्ष माया पौडेलले प्रस्तुत गरेकी थिईन ।
कार्यक्रम संचालन टोल बिकासका सल्लाहकार ईन्द्र बिलास न्यौपानेले गरेका थिए ।


कार्यक्रममा टोल बिकासको कार्यमा अहोरात्र सहयोग पुर्याउने संस्थाका निवर्तमान अध्यक्ष सुजन बराल, निवर्तमान सचिब राजेन्द्र अधिकारी, निवर्तमान कोषाध्यक्ष शरण अधिकारी तथा टोलका ज्येष्ठ नागरिक मीनकुमारी अर्याल, कृष्णकुमारी अधिकारी एवं शुकदेव अधिकारी लाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको हो ।

नयाँँ कार्यसमिति चयन

टोलका ज्येष्ठ नागरिक दिनानाथ अधिकारीको अध्यक्षतामा अधिवेशन सभाबाट पाँच सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष सन्तोष अधिकारी, उपाध्यक्ष रिता पौडेल, सचिब रामु पौडेल, कोषाध्यक्ष नवराज अधिकारी तथा सह-सचिब सुमित्रा अधिकारी नयाँ कार्य समितिमा चयन भएका हुन् । टोलले ३२ बर्षिय युवा सन्तोष अधिकारी सहितको जुझारु युवा टिम पाएको छ ।
 


Thursday, January 27, 2022

कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडियो

 प्रकाश सिग्देल

माघ १३

 

कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा कालीनदिमा छाडेको । गैडाकोट नगरपालिका प्रमुख मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा यहाँ माछाका भुरा छाडिएको हो ।

गैँडाकोट नगरपालिकावडा नम्वर ३ को ढोडेनी देखी १० किलोमिटर माथि महेश्वर खोला भ्रोक्रे फाट भन्ने स्थानमा पुगेर काली नदिमा माछा छाडेको हो । नदीमा पुगेर ३१ हजार माछाका भुरा छाडिएको कार्यालयका प्रमुख सरोज कुमार यादवले बताए ।

मेयर पौडेल आफै त्यहा सम्म पुगेर कार्यक्रममा सहभागिता जनाएर उनकै हातबाट माछाको भुरा नदीमा छोड्न पाउँदा आफुहरु धेरै खुसि भएको यादवले बताए ।कालि नदीमा माछाका भुरा छाड्दै मेयर पौडलले नदीमा माछाको प्रर्वद्धन गरी प्रकृतिको संरक्षणमा प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्रले महत्वपुर्ण काम गरेको बताए । जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिवृद्धिका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने मेयर पौडेलको भनाई छ । कालि नदीको संरक्षणका लागि यो महत्वपुर्ण काम भएको पौडेलको दावी छ ।

कार्यालयले यस अघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार र नारायणी नदीमा ४० हजार भुरा छोडीसकेको छ  । त्यस्तै कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए ।खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदिजन्य पदार्थको चरम दोहन गर्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको यादवको भनाई छ ।

त्यस्तै कार्यालयले गैँडाकोट ३ स्थित ढोडेनी बजारमा रहेको बिद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतना मुलक होडिगं बोर्ड समेत लगाएको छ । आफुहरुको मेची देखी महाकाली सम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यायन गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रर्वद्दन गर्न माछा भुरा छाँडिदै आएको यादवको भनाई छ । नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताए । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उनकोे भनाई छ ।

जलाहारी बोटे लगायतका समुदायको आयस्थर विकास गर्न र नदीनाला बाट माछा मारेर जिवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम संचालन गरिएको यादव बताउँछन । यसले पानीमा आश्रित गोही लगाएतका जनावरलाई समेत फाईदा पुग्ने उनको भनाई छ ।









रत्ननगरका विपन्न किसानलाई अनुदानमा गाई

रत्ननगर १३ माघ । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक अबस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ । 



पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो ।

किसानलाई गाई वितरणको लागि सो नगरपालिकाको नवौं नगर सभाले एक करोड रुपैया विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र किसानको एक करोड गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । विहीबार १६ जना किसानलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको छ । 

सो नगरपालिकाले गाईसंगै गोठ सुधारको लागि १० हजार रुपैया समेत प्रदान गरेको छ । नगरपालिकाले प्रदान गरेको १० हजारमा किसानले १० हजार थप गरी २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ । गाईको सवालमा किसानले कम्तिमा ८० हजार मुल्य बराबरको गाई खरिद गर्नुपर्छ । विहान बेलुका गरी कन्तिमा १० लिटर दुध दिने र सो गाई पूर्ण रुपमा स्वस्थ्य हुनुपर्ने पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए । 

नगरपालिकाले किसानको आर्थिक अबस्था मुल्याङकन गरी पशुपालनबाटै जीविका चलाउछु भन्ने विश्वास भएको किसानलाई मात्र गाई वितरण गर्ने उनले जानकारी दिए । मेयर नारायण वन,उपमेयर विमला दुवाडीले नगरपालिकाको प्राङ्गढमा किसानलाई गाई हस्तान्तरण गरेका छन् । अनुदानमा गाई पाएपछि किसानहरु उत्साहित भएका छन् ।

रत्ननगर १३ अमेलियाकी किसान पदमकुमारी न्यौपानेले यस अघि नगरपालिकाले दिएको अनुदान रकमबाट बाख्रापालन गरी जीविकोपार्जन गरेको र अहिले गाई समेत पाउदा खुसी लागेको बताइन । उपमेयर दुवाडीले नगरको गौरबको योजना अन्तर्गत किसानलाई गाई वितरण सुरु गरिएको बताइन । 

मेयर वनले सुत्केरी पशुलाई भत्ता पछि किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानहरुको पहिचान गरी गाई वितरण गरिएको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,नेकपा एमालेका नगर सचिव शिवराज सुवेदी,नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए । 


 







अलपत्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले थाल्यो गृहकार्य

चितवन ।  चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ । ‘धुर्मुस सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि शुरू गरेको रंगशाला निर्माणको काम अहिले अलपत्र छ ।आर्थिक संकटका कारण धुर्मुस–सुन्तलीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता लिएको छ ।


रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरले सर्वपक्षीय अन्तर्क्रिया राखेको थियो । सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने तयारी गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्दता जनाए ।उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताए ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रंगशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए । कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयको सिंगो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीलले अध्ययन थाल्ने बताए । रंगशाला सम्पन्न गर्न स्थानियको चासो हुनु पर्ने भन्दै उनले भने “तपाईहरु एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ ।”
केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रंगशाला सम्पन्न हुने उनको भनाई थियो । खेलकुदका पूर्बाधारहरु बजेटको अभावमा अलपत्र परेका भन्दै दातृ निकायहरुसंग आर्थिक सहयोगका लागि कुराकानी समेत भईरहेको उनले बताए। रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिले सम्मको खर्च बिबरण यथाशिघ्र सार्बजनिक गरेर बुझाएमा काम अघि वढाउन सहज हुने मन्त्री गहतराजको भनाई थियो । राष्ट्रिय सहमती जुटेर अघि वढेको देशकै यो नमुना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ,उनले भने ।
युवा तथा खेलकुद मन्त्रालयका सचिब डा.दामोदर रेग्मीले परियोजना सम्पन्न गर्न मन्त्रालय सकारात्मक रहेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको हाल सम्मको संक्षिप्त बिबरण पेश गर्दै सो को दिर्घकालिन व्यवस्थापन गर्नका लागि महानगरपालिकाको स्रोत, साधन र क्षमताले नभ्याउने भएकाले संघिय सरकारको निर्णय आबश्यक भएको बताईन । यो महानगर भित्रको गौरबको आयोजना भएको भन्दै प्रमुख दाहालले यसमा ३० हजार भन्दा बढि नागरिकको आर्थिक रुपमा योगदान रहेको बताईन ।

कार्यक्रममा प्रदेश सभा सदस्य, राजनैतिक दलका जिल्ला स्थित प्रमुख एबं प्रतिनिधिहरु, उद्योगी व्यवसायी, खेल प्रेमि लगाएतले सुझाब दिदै यो आयोजना संघिय सरकारले सम्पन्न गरेर व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए ।आर्थिक बिषय सार्बजनिक गर्नुपर्नेमा जोड दिए पछि फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले केही दिन भित्रमानै आय–व्यय सार्बजनिक गर्ने बताए ।

यो आयोजना बिशम परिस्थितिका कारण सम्पन्न गर्न नसके पनि आर्थिक रुपमा पारदर्शि गरिएको बताए । भरतपुरमा निर्माणाधिन रंगशाला आर्थिक अभावका कारण बिगत चार महिना देखि काम रोकिएको छ । सो आयोजना सम्पन्न गर्न रु ३ अर्ब हाराहारी खर्च हुने अनुमान रहेको छ । फाउण्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ ।

अन्तरक्रिया कार्यक्रम अघि मन्त्री गहतराज सहितको मन्त्रालयको टोलिले काम रोकिएको रंगशालाको निरिक्षण गरेको थियो । सो अबसरमा महानगर प्रमुख दाहाल, उपप्रमुख पार्बती शाह ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।

 


Wednesday, January 26, 2022

रोटरी क्लवद्धारा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

रत्ननगर १२ माघ । रोटरी क्लव अफ रत्ननगरले बुधवार विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । रत्ननगर १२ मा रहेको पञ्चदीप आधारभुत विद्यालयमा अध्ययनरत २४९ बालबालिका लाई न्यानो कपडा बितरण गरिएको हो ।


 कार्यक्रमका प्रमुख अतिथि जोन ३० का एजी नारायण प्रधानले रोटरी भनेको स्वार्थ भन्दा माथि सेवा भन्ने अभिप्राय बोकेर समाजमा शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताए । विद्यालयमा थप नयाँ सम्स्या भएमा क्लव अन्य बिभिन्न पोजेक्टबाट समेत सघाउने प्रतिवद्दता ब्यक्त गरे ।


 कार्यक्रमका बिशिष्ट अतिथि रत्ननगर वडा नं १२ का वडा अध्यक्ष वीरबहादुर पाख्रिनले रत्ननगर जस्तो सम्पन्न नगरपालिकामा बालबालिकाहरु न्यानो कपडाका लागि अरुको मुख ताक्नुपर्ने अवस्था हुनु दुर्भाग्य भएको बताए । बडाले केही परिवर्तनमुखी काम गर्न चाहेरपनी बजेटको अभावले गर्दा सोचे अनुरुपको काम गर्न नसकेको स्विकार गरे ।


 कार्यक्रममा समाजसेवी तथा व्यवसायी भेषराज दुवाडीले बिपन्न परिवारका बालबच्चा अध्ययन गर्ने यो विद्यालयमा विद्यालय प्रतिको आकर्षण बढाउन तथा सामाजिक उत्तरदायित्वको बहन गर्दै आफ्नो क्लवले यो कार्यक्रमको आयोजना गरेको बताए । देशलाई विकासको मार्गमा अघि बढाउन शिक्षा अपरिहार्य रहेको भन्दै शिक्षामा सबैको पहुँच पुर्याउन सामुदायिक विद्यालयलाई सबैले ध्यान दिन जरुरी रहेको बताए ।


 जनप्रतिनिधि र शिक्षकले कमसेकम आफ्ना बाबुनानी सामुदायिक विद्यालयमा पढ्न पठाउने गरेमा समुदायको सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्ने दुवाडीले बताए । 

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शर्मिला भट्टले विद्यालयको शैक्षिक गुणस्तर उकास्न अनवरत लागिरहेको भन्दै दरवन्दीको अभाव लगायत अन्य यावत समस्या विद्यमान रहेकाले बेलाबेलामा यस्ता सामाजिक उत्तरदायित्व बोधहुने यस्ता कार्यक्रमले हामीलाई हौसला प्रदान गर्ने भन्दै आयोजकलाई धन्यवाद ब्यक्त गरिन ।


 रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष तथा कार्यक्रमका सभापति निराजन खनालले आफ्नो क्लवले सदैव शिक्षालाई प्रार्थमिकतामा राखेर सामाजिक कार्य गर्दै आईरहेको बताए । यस विद्यालयमा न्यानो कपडा बितरण गर्न आँउदा यस बिद्यालयको सम्स्यासंग आँफुहरु नजिक हुन पाएको र अब सो निराकरण गर्न आफ्नो क्लव लागि पर्ने बताए ।


 कार्यक्रममा कार्यक्रमको सहआयोजक रोट्र्याक्ट क्लव अफ रत्ननगरका तर्फबाट राजिव शर्मा अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर तमाङ, क्लवका पूर्व अध्यक्ष प्रेमकृष्ण खनाल, बुद्धराम जोशी, क्लवका निवर्तमान अध्यक्ष शिवराज उप्रेती, क्लव डाइरेक्टर उपेन्द्र आचार्य, शक्तिशाली आमा समुहकी अध्यक्ष तथा क्लव सदस्य बिरंजना सापकोटा घिमिरे, क्लव सदस्य प्रकाशमणि सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

 

 

Tuesday, January 25, 2022

रत्ननगरमा एड्वानको अन्तरक्रिया, महिला हिंसा तथा मदिरा न्यूनीकरणमा जोड

माघ ११, रत्ननगर ।

 रत्ननगरमा महिला हिंसा अन्त्य तथा अल्कोहल न्यूनीकरणमा संचारकर्मीहरुले खेल्नुपर्ने भूमिका तथा जनप्रतिनिधिले वहन गर्नुपर्ने उत्तरदायित्व सम्बन्धमा अन्तरक्रिया गरिएको छ । नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले आयोजना गरेको कार्यक्रममा विभिन्न टोलका अगुवा महिला, स्थानिय पत्रकारहरु, नेपाल बसोबासका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।


  बिशेष गरि शिक्षाको कमि तथा गरिवीले घेरेको समाजमा अत्याधिक रुपमा महिला हिंसा तथा मदिरा सेवनको क्रम रहेको साथै मदिराको प्रयोग धर्म संस्कृति संग पनि जोडिएर आउने भएको हुँदा यसलाई पूर्ण रुपमा निस्तेज पार्न नसके पनि त्यसलाई बिस्तारै कम गर्दै लैजान सडक नाटक, मोटिभेसनका कार्यक्रम, पोस्टर निर्माण लगाएतका विभिन्न कार्यक्रम ल्याईने एड्वान की महासचिव बिन्दु परियार थापाले बताएकी छिन । कार्यक्रमका सहभागीहरुले एड्वानले ल्याएको यो कार्यक्रमको प्रशंसा गर्दै आफुहरु एड्वानको हरेक कार्यक्रममा साथ रहने बताएका थिए ।


  एड्वानले महिलाको आर्थिक उन्नति, सामाजिक जनचेतना, छात्रवृत्ति कार्यक्रम, बालिका शिक्षा कार्यक्रम, जातीय विभेद विरुद्ध कार्यक्रम लगाएतका कार्यक्रमहरु संचालन गरिरहेको छ । हाल भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आफ्नो कार्यहरु अगाडी बढाईएको र निकट भविष्यमा नै खैरहनी नगरपालिकामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरिने महासचिव बिन्दु परियार थापाले जानकारी दिएकि छिन ।

Monday, January 24, 2022

रोयल पेन्ट्सको उपहार योजना सार्बजनिक, छबिलालले पाए १५० सिसिको पल्सर बाइक

रोयल पेन्टस प्रा.लि.ले आफ्ना ग्राहकहरुको लागि आयोजना गरेको रोयल पेन्टसको बहार, बम्परमा पल्सर उपहार योजना एक कार्यक्रमबीच सार्बजनिक गरेको छ।


 गत भाद्र १ गते देखि कार्तिक ३० गतेसम्म नेपाल भरका विभिन्न डिलरहरुबाट रोयल पेन्ट्स खरिद गर्ने ग्राहकहरुका लागि यो योजना संचालन गरिएको थियो। रोयल पेन्टस प्रा लि.को आधिकारिक फेसबुक पेजबाट लाइभ गरि गोला प्रथाको माध्यमबाट बिजेता घोषणा गरिएको सो कार्यक्रममा  रोयल पेन्टस प्रा लि, एशोसियट कम्पनीका अध्यक्ष प्रमेश भण्डारी,चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, रोयल पेन्ट्सका ब्राण्ड एम्बेस्डर  तथा चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत, निर्देशकहरु कृष्ण भण्डारी, पवन राज पौडेल , प्रकाश केसी, वरिष्ठ वित्तीय प्रमुख चिरञ्जीवी पाण्डे लगायतको उपस्थिति रहेको थियो।


उपहार सार्वजनिक कार्यक्रममा १० जना ग्राहकहरुलाई MI स्मार्ट मोबाइल, ५ जनालाई ४३ इन्चको भिडियोकोन टेलिभिजन र बम्पर उपहार अन्तर्गत एक जनालाई बजाज कम्पनीको Palsar150 बिजेता घोषणा गरिएको थियो। पल्सर बाइक भने कर्णाली ट्रेड्रस, कोहलपुर, बाकेबाट रोयल पेन्ट्स खरिद गर्ने छविलाल ओलीले जित्न सफल भएका हुन् ।कार्यक्रममा गायकद्वय प्रकाश सपूत र महेन्द्रराज बरालले गायन प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीत

नेपाल चलचित्र कलाकार संघका महासचिव, चर्चित कलाकार तथा निर्माता चेतबहादुर सिंह “राजा” नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।



नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको २०७८ मंसिर १५ गतेको पदाधिकारी बैठकले अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद– ७ दफा २० (च) बमोजिम अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

महासचिव सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरुको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आउनु भएको छ । उहाँले चलचित्र निर्माण संँगै २ दर्जनभन्दा बढी नेपाली चलचित्र अभिनय गर्नुभएको छ । उहाँले विभिन्न सामाजिक संघ/संस्था मार्फत विभिन्न बृद्धाश्रम , अनाथलय, अस्पताल र विद्यालहरुमा सेवा र सहयोग गर्दै आउनुभएको छ । उहाँ चलचित्र सीपमुलक तथा व्यतित्वका विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्मेलनमा समेत सहभागिता जनाईसक्नु भएको छ ।


Thursday, January 20, 2022

राष्ट्रिय योजना आयोग उपाध्यक्ष द्वारा बिधालय भवन उद्घाटन, ३२ लाखमा २ कोठे सुबिधा सम्पन्न भवन

 

राष्ट्रीय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले कालिका ११ सिद्दी स्थित श्री राष्ट्रीय आधारभुत बिधालय कल्यानचौर रन्तेसको नबनिर्मित २ कोठे भवनको उद्घाटन गर्नु भएको छ । सामुदायिक श्रोत केन्द्र रत्ननगरले रु ३२ लाख रुपियाँको लागतमा सुबिधा सप्पन्न २ कोठे भवन निर्माण गरिदिएको हो । 


 बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर चेपाङ्को अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजा , सामाजिक ब्याक्तित्व देबेन्द्र श्रेष्ठ , नेपाल मौरिपालक महासंघका अध्यक्ष शिव पौडेल लगाएतले मन्तब्य राखेका थिए । 


 

कार्यक्रमका प्रमुख अतिथी डा विश्व पौडेलले भण्डाराबाट मलेखु जोड्ने सडक वास्तविक चेपाङ मार्ग नभएको ए एक सय प्रतिसत चेपाङ्हरु मात्र बसोबास रहेको शक्तिखोरदेखि सिद्दी तीनदोभान दौतेस खिर्की ठकुरी भञ्ज्याङ् हुँदै हात्तिढाप जोडिने सडकलाई स्तर उन्नती गरि कालोपत्रे गरेर बस्तबिक चेपाङ मार्गको रुपमा बिकास गरि पर्यटन प्रबर्दन गर्ने र त्यसका लागि आफुले प्रत्याप्त बजेट बिनियोजन गर्ने बताउनु भयो । 

 चेपाङ केन्द्रका अध्यक्ष सम्मानित 


 
सोही बिधालय भवन उद्घाटनको अबसर पारी समग्र चेपाङ जातिको उत्थान र उन्नतीका निम्ति उल्लेखनीय योगदान पुर्याएको भन्दै गामबेशिको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मालाई रास्ट्रीय योजना आयोगका उपाध्यक्ष आदरणीय विश्व पौडेलको हातबाट , बिधालयका प्रधानाध्यापक दिनेश चेपाङ्ले सम्मान गर्नु भएको छ । सम्मानित भइ सकेपछी अध्यक्ष शर्माले आफुलाई अझै जिम्मेवारी थपिएको बताउनु भयो ।

Thursday, January 13, 2022

खैरहनी नगरपालिका नगर सभा, वडागत ७४ वटा योजना संशोधन

पुष २९ गते । 

चितवनको खैरहनी नगरपालिकाको दसौं नगर सभा विहीवार सम्पन्न भएको छ । 


 नगर सभाले नगरपालिकामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको ऐन २०७८ सहित वडागत योजना संशोधन गरेको छ । नगर सभामा नगर प्रमुख लालमणी चौधरीले प्रस्तुत गरेको नगरपालिकामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको ऐन २०७८ सहित विभिन्न प्रस्ताव पारित गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए । 


 नगर उपप्रमुख सुनिता थपलियाले योजना संसोधनको प्रस्ताव गरेकी थिइन् । वडागत ७४ वटा योजना संशोधन गरि १०७ वटा पुर्याइएको छ । नगर सभामा विषयत समितिबाट हाल सम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । 

आर्थिक विकास समिति संयोजक कारीराम चौधरी,सामाजिक विकास समिति संयोजक मनेजर महतो,पूर्वाधार विकास समिति संयोजक होमकुमार पुन,सार्वजनिक खरिद तथा क्षमता,सुसासन विकास समिति संयोजक टिकादत्त इटनी,वातावतरण तथा विपद व्यवस्थापन समिति सदस्य रामशरण पाण्डे,विधायन समिति संयोजक देववहादुर वस्नेत, लेखा समिति संयोजक टिकाराम तिमल्सीना,न्यायिक समिति सदस्य गोमादेवी भुजेलले आआफ्नो समितिको प्रतिवेदन नगर सभामा पेश गरेका थिए ।

Wednesday, January 12, 2022

चेपाङ विद्यार्थीको शिक्षाका लागि सपना भिलेजको सहयोग

चितवन । इच्छाकामना गाउँपालिका २ तोवाङ स्थित भुलभुले आधारभूत विद्यालयमा अध्यायन गर्ने चेपाङ विद्यार्थीहरुका लागि विभिन्न सहयोग गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्ट र रेस्टुरेन्ट एण्ड बार एसोसियशन सौराहाले सो विद्यालयलाई खानापकाउने चुल्हो,खाद्यान्न,भाडाकुँडा,फर्निचर र विद्यार्थीलाई स्टेशनरी तथा न्यानो कपडा सहयोग गरेको हो ।


  धादिङको हुग्दीबाट करिव डेढ घण्टा गाडी चढेर पुगिने सो विद्यालय संकटको अवस्थाबाट गुज्रिएको जानकारी पाएपछि गाउँपालिकासंगको समन्वयमा सहयोग गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । इम्प्याक्टका अध्यक्ष धु्रव गिरी र रेवानका महासचिव सुर्य रिमालले विद्यालयका प्रधानाध्यापक विष्णु अधिकारीलाई ति सामाग्रीहरु हस्तान्तरण गरे । सोसियल इम्प्याक्टले इच्छाकामना १ मा सवै यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजना संचालन गरिरहेको छ ।


  इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतका अनुसार ३८ थान डेस्कवेन्च,दिवा खाजाका लागि खाद्यान्न सामान, खाना वनाउने चुल्हो २ थान तथा विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा प्रदान गरिएको हो । भुलभुल विद्यालयमा ६१ जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ सवै चेपाङ समुदायका विद्यार्थी छन् । आर्थिक अवस्थाका कारण विहान वेलुका खानेकुरा र न्यानो कपडाको अभावबाट गुज्रिरहेकाको अवस्थामा विद्यालय नियमित गराउन सहयोग गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले बताए । इम्प्याक्टले विगत एक वर्षदेखी सरकारले प्रदान गर्ने वाहेक पेटभरी खाना पुग्ने गरि दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।


 

सुकुमबासीलाई लालपूर्जा ः रत्ननगर र आयोगबीच सम्झौता

रत्ननगर २८ पुस । 

चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ ।  


 काठमाडौंमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशब निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या सामधान आयोगले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि ७७ वटा जिल्लामा काम सुरु गरिसकेको थियो । विवरण संकलन गरेर जग्गा नाप्ने काम चलिरहदा बर्तमान सरकारले ज्ञावली नेतृत्वको आयोग विघटन गरेको थियो । 

वर्तमान निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले  अघिल्लो आयोगले गरेका कामहरुलाईसदर गर्दै लालपूर्जा वितरणको लागि पालिकाहरुसंग सम्झौता गरेको छ । ज्ञवाली नेतृत्वले बनाएको लालपूर्ण वितरण सम्बन्धी कार्यविधिलाई केही संशोधन गरी अहिले सम्म भएका कामहरुलाई आधार मानेर लालपूर्जा वितरणको काम अगाडि बढाउने गरी सम्झौता भएको मेयर वनले जानकारी दिए । अघिल्लो आयोगले संकलन गरेको विवरणलाई जाँचबुझ गर्ने र त्यसलाई पनि आधार मानिने मेयर वनले बताए । पाँच बर्षे कार्यकालको अन्तिम अन्तिममा आइपुगेका मेयर वनले अहिले बनेको आयोगले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने आफ्नो सपना पुरा गर्ने विश्वास व्यक्त गरे । 

यस अघिको आयोगले संकलन गरेको विवरण अनुसार रत्ननगर नगरपालिकामा भूमिहीन दलीत,भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी २ हजार ३९८ घरघुरीले फारम भरेका थिए । यही पुस २४ गते जिल्लाको भरतपुर महानगर सहित माडी र कालिका नगरपालिकाले आयोगसंग सम्झौता गरिसकेका छन् ।
 

Tuesday, January 11, 2022

सुकुमबासीलाई लालपूर्जा : रत्ननगर र आयोग बीच सम्झौता हुँदै

रत्ननगर । 

रत्ननगर नगरपालिका भित्रका भूमिहीन सुकुमबासीलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिका बीच सम्झौता हुदैछ । 


 पुस २८ गते काठमाडौंमा रत्ननगर नगरपालिका र आयोग बीच सुकुमबासीलाई लालपूर्जा वितरणको लागि काम अगाडि बढाउने गरी सम्झौता हुन लागेको हो । आयोगले पौष २४ गते ९१ वटा पालिकाहरुसंग सम्झौता गर्ने गरी नाम सार्वजनिक गरेको थियो । सम्झौता गर्न आयोगले ३५ दिनको म्याद राखेको छ । सार्वजनिक सुनुवाई गरी नगरसभाको तयारीमा रहेको सो नगरपालिकाले २८ गते आयोगसंग सम्झौता गर्न लागेको हो ।

 काठमाडौंमा हुने कार्यक्रममा आयोगसंग सम्झौता हुने र लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने मेयर नारायण वनले बताए । नगर स्तरीय राजनीतिक दलले आयोगसंग तत्काल सम्झौता गरेर काम अगाडि बढाउने लिखित पत्र मार्फत नगरपालिकालाई आग्रह गरेका छन् । २८ गते सम्झौता गर्ने गरी आयोगले हामीलाई जानकारी गराएको हो मेयर वनले भने सोही अनुसार भोली हामीले सम्झौता गर्दैछौं ।

Sunday, January 9, 2022

रत्ननगरमा खुल्यो आधुनिक जिम सेन्टर

 

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष लामो अनुभवका आधारमा श्रेष्ठ जिम सेन्टर सञ्चालनमा आएका हुन । सो जिम सेन्टरको आइतबार रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले उद्घाटन गरेका छन् ।


 सो अवसरमा उनले ठुलो लगानीमा आधुनिक जिम सेन्टर सञ्चालनमा आएको भन्दै शारिरीक व्यायमका लागि प्रविधियुक्त जिम सेन्टर फलदायी हुने बताए । मानव सम्यताको विकाससँगै खानपान र रहनसहनका कारण दीर्घ रोगीहरुको संख्या बढ्दै गइरहेको भन्दै उनले रोगबाट बच्न जिमको माध्यमबाट व्यायाम गर्न सकिने बताए । श्रेष्ठले ३५ लाखको लगानीमा प्रविधियुक्त जिम सेन्टर सञ्चालनमा ल्याएका हुन ।


 जिमप्रति आकर्षण बढ्न थालेपछि परम्परागत जिम सेन्टर बिस्थापित गरी आधुनिक जिम सेन्टर सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । उद्घाटन कार्यक्रममा वडा नं १० का कार्यबहाक वडाध्यक्ष कमलबहादुर घिमिरे, सरसफाइ क्षेत्रका अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, चितवन फिजिकल फिटनेसका सञ्चालक प्रकाश गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिम सेन्टरका अर्का सञ्चालक राज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।