Wednesday, June 9, 2021

नेपाली कांग्रेस रत्ननगर वडा कार्य समितीले बाबु-छोरा गुमाएको परिवारलाई गर्‍यो नगद १३९५०५ रकम सहयोग

 

रत्ननगर, २६ जेठ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका रत्ननगर नगरपालिका–३ शान्तिचोकका बुबाछोरा दुर्गा बहादुर आचार्य र विनोद आचार्यका परिवारलाई बुधवार आर्थिक सहयोग गरिएको छ ।


 

नेपाली कांग्रेस रत्ननगर–३ वडा समितिले आचार्य परिवारलाई १ लाख ३९ हजार ५०५ रुपैया सहयोग हस्तान्तरण गरेको हो । आर्थिक अबस्था कमजोर रहेका दुर्गा बहादुरको बैशाख २६ गते र विनोदको बैशाख २७ गते कोरोनाकै कारण मृत्यु भएको थियो ।


 

एकै घरका बुवाछोराको मृत्यु भएपछि विहान बेलुका गुजरा चलाउन समस्या भएपछि नेपाली कांग्रेस वडा समितिले आर्थिक संकलन गरी आचार्य परिवारलाई सहयोग गरेको हो । नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी र वडा समितिका सभापति छविलाल घिमिरेले दुर्गा बहादुरकी श्रीमति तथा नेपाली काँग्रेसकी क्रियाशिल सदस्य कमला आचार्यले सो रकम हस्तान्तरण गरेका थिए ।


 

लामो समय देखि वडा समितिका कार्यबहाक सभापतिमा रहेर काम गरिरहेका बसन्तकुमार देवकोटाको सक्रियतामा आचार्य परिवारको लागि आर्थिक संकलन गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



नेपाल रेड्क्रस सोसाइटी, पिठुवा उपशाखा द्वारा राहत सामग्री सहयोग,२२ परिवार लाभान्वित

रत्ननगर,जेठ २६-
चितवनको रत्ननगर-१४ स्थित नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखा द्वारा रत्ननगर १४,१५ र १६ वडाका २२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ।
आज(बुधवार) बिहान एक कार्यक्रम बिच रत्ननगर-१४ मा अवस्थित दिव्य ज्ञान विद्यालयको परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाईटि,चितवन शाखाका सभापती ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १४ का अध्यक्ष हरिकुमार श्रेष्ठ,वडा नम्वर १५ का अध्यक्ष हुमनाथ लामीछाने र वडा नम्बर १६ का अध्यक्ष हेमराज थापा विशिष्ट अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले महामारीको समयमा राहत वितरण जस्तो मानविय कार्यक्रम हुनु असाध्यै सकारात्मक पक्ष रहेको बताए ।
उनले देशभर विभिन्न क्षेत्रमा थुप्रै दाताहरुले असहाय,दिन दुखी,गरिव र बिपन्न परिवारलाई सहयोग हुँदै आएको बताए। बिपदको समयमा यस किसिमको मानविय कार्यमा सबैलाई खुलेर लाग्न समेत अनुरोध गरेका छन।
कार्यक्रममा राहत सामग्री स्वरुप प्रती परिवार २५ केजि चामल,नुन,प्याज लगायत खाद्यान्न सामग्री सहयोग गरिएको थियो।
उक्त कार्यक्रममा रेडक्रस पिठुवा उपशाखाकि सल्लाहकार रमा बस्नेत,सामाजिक व्यक्ति जयन्द्र कुँवर वडा सदस्यहरु गिता दाहाल ,शुशिला परियार,रुकमाया परियार, क्रान्तीकारी महिला संगठन,चितवनकी अध्य्क्ष संगिता भट्टराई ,भवन निर्माण समित सदस्य एवं कोषाध्यक्ष नर्मदा अधिकारी लगायत अतिथिको रुपमा रहेका थिए।
कार्यक्रम सामाजिक व्यक्तित्व एव अभियान्ता नशिव कृष्ण बस्नेतको विशेष सहयोगमा संचालन भएको थियो। उनले सामाजिक रुपमा उत्तरदायित्व बहन गर्न सम्पुर्णमा अपिल समेत गरेका छन।
शिक्षक एवं सामाजिक व्यक्तित्व रामहरि भण्डारिले संचालन गर्नुभएको उक्त कार्यक्रम नेपाल रेड्क्रस सोसाईटी पिठुवा उपशाखाको सभापती कमलनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Tuesday, June 8, 2021

रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग

 चितवन २५ जेठ । 

 चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलवार आर्थिक सहयोग गरेको छ ।


 

 सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन विताई रहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको उद्दार गरी संरक्षण गरिरहेको मानब सेवा आश्रमलाई सो नगरपालिकाले ४ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । 

हेटौडामा मुख्य कार्यालय रहेको सो आश्रमको ७ वटै प्रदेशका १६ जिल्लामा २५ वटा शाखामा १०४ वालवालिका सहित एक हजार ७०० जना आश्रित छन् । चितवन शाखामा ४ जना वालवालिका सहित ६५ जना सडकबाट उद्धार गरिएका व्यक्तिहरु रहेका छन् । रकम हस्तान्तरण कार्यक्रममा मेयर वनले मानव सेवा आश्रमले मानवताको लागि निभाएको भूमिकालाई प्रशांसा गरेर नसकिने बताए । यो आश्रम सडकमा जीवन विताइरहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको मन्दिर हो उनले भने यहाँ जति सहयोग गरेपनि कमी हुन्छ । स्थानीय सरकारको हैसियतले मान्छेको बाच्न पाउने अधिकार सुरक्षित गरिरहेको आश्रमलाई सहयोग गर्ने दायित्व भएको भन्दै उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । 

उपमेयर दुवाडीले सडकमा जीवन व्यतित गरिरहेका बृद्धबृद्धाहरुलाई नयाँ जीवन प्रदान गरेर मानब सेवा आश्रमले मानबताको ठुलो उदाहरण पेश गरेको बताइन । आश्रमका अध्यक्ष अधिकारीले सम्भव भएसम्म अर्को बर्ष नेपाललाई सडक मानब मुक्त देश घोषणा गर्ने अभियानमा लागि परेको बताए । सकभर आश्रम खोल्ने र सञ्चालन गर्ने अबस्थाको अन्य गर्ने प्रयासमा हामी छौं उनले भने त्यसका लागि मानवता प्रर्बधनको कार्यक्रम सञ्चालन गर्नुपर्ने हामीमा जिम्मेवारी छ । तीनै तहको सरकारको सहयोग भयो भने लक्ष्य हासिल गर्न धेरै समय नलाग्ने उनको भनाई छ । 

रकम हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो,वडा नं १० का वडाध्यक्ष केशव आचार्य,प्रशासकीय अधिकृत अर्जुन पंगेनी लगायतको सहभागिता रहेको थियो । यसैबीच नारायणगढको बेलचोकमा निर्माणाधिन मानब सेवा आश्रमको भवनको मेयर वन,उपमेयर दुवाडी सहितका जनप्रतिनिधिहरुले अबलोकन गरेका छन् ।

तरुणदल कालिका नगरसमिती द्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण

 

जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका नगरसमितिले चरणबद्ध रुपमा राहत बितरण गर्दै आइरहेको छ ।


 

पहिलो चरणमा ४० बिपन्न परिवारलाई राहत बितरण गर्न आफ्नो जन्मदिनको अवशर पारेर तरुणदलका जिल्ला सदस्य सन्तोष स्याङतानले रु २० हजारको कोष स्थापना गरेकोमा दोश्रो चरणको राहत बितरण सम्म आइपुग्दा विभिन्न राजनीतिक ब्यक्तित्वहरुको सहयोगमा एकैपटक १ सय बिपन्न चेपाङ परिवारलाई राहत बितरण गरिएको हो।


 

कालिका नगरपालिकाको वडा नं १० र ११ का अति बिपन्न १ सय चेपाङ परिवारहरुलाइ गरीएको राहत बितरणको अनौपचारिक कार्यक्रममा नेपाल तरुणदल चितवनका पुर्व जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, जिल्ला सचिव प्रह्लाद उप्रेती, पुर्व जिल्ला सचिव आनन्द राउत, जिल्ला प्रबक्ता हेमन्त बास्तोला ” बिश्व “, तरुणदल कालिकाका अध्यक्ष कमलराज मुक्तान , उपाध्यक्ष टंक थिङ, प्रदिप श्रेष्ठ , सचिव दिवश मगर, नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि नरजङ्ग प्रजा महेन्द्र, नेबि. संघ जिल्ला सह सचिव अशोक स्याङतान, महिला नेतृ निरुजा श्रेष्ठ, कालिका ११ का वडा सभापती प्रेम प्रजा, युवानेताहरु कृष्ण भुजेल, केशव तिवारी, स्वरुप गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


 

कोभिड १९ का कारण राहत बितरण गर्दा भिडभाड बढी हुने र संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कालिका तरुणदलले बिपन्न परिवारको घरमै राहत पुर्याइदिनका लागि वडा नं १० मा नरजङ्ग प्रजा महेन्द्र र वडा नं ११ मा प्रेम प्रजालाइ जिम्मेवारी दिएको छ ।

तरुणदल कालिकाका अध्यक्ष कमलराज मुक्तानले चेपाङ समुदायमा बिपन्न बर्गका परिवार खोजी गर्दै जाँदा अझै सयौँ परिवारहरु भेटिएकाले अहिलेको राहत बितरणमा सबैलाइ समेट्न नसकिएको हुँदा अब छिट्टै तेश्रो चरणको बितरण अभियानमा सबै चेपाङ समुदायलाइ समेट्ने बताए ।

Thursday, June 3, 2021

चितवन खबर पत्रिकाले धनगढा पार्कमा मनायो १० औँ वार्षिकोत्सव

चितवन । 


 

 छापापत्रकारिताको दुनियाँमा एकदशदेखि अनवरत रुपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय दशौं वार्षिकउत्सव मनाएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा एक कार्यक्रमका बीच बार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । 


 

गौरवमय दशौं वार्षिकोत्सवको अवसरमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी कुल बहादुर भण्डारी, विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवर रहनु भएको थियो ।


 

 सो अवसरमा शुभकामना दिनु हुँदै समाजसेवी भण्डारीले मोफसलमा रहेर विभिन्न चुनौतिका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले विगत एकदशकदेखि चितवनको आर्थिक, सामाजिक, राजनैतिक रुपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो । आगामी दिनमा चितवनलाई आधार क्षेत्र बनाएर सामाजिक उत्तरदायित्वका साथै आवाज विहिनको आवाजको रुपमा सदैव स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

 कार्यक्रमको विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसुचित गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पत्रिकाले विकृति विसंगतीलाई चिर्दै समाजको ऐनाको रुपमा भूमिका निर्वाह गरेर अघि बढनुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

 कार्यक्रमको सभापति एवम् चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिस्कृत र परिमाजर्न गर्दै लैजाने बताउनुभयो । सम्पादक पन्तले हालसम्म पत्रिका प्रकाशनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा सबैको मार्ग निर्देशनबाट नै अघि बढ्दै जाने बताउनुभयो । 

चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जस्तो सुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै आएको बताउनुभयो । पत्रिकालाई यहाँसम्म ल्याई पुर्याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति कार्कीले आभार प्रकट गर्नुभयो । त्यस्तै, पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जेपी) ले पत्रिका एघारौँ वसन्तमा प्रवेश गर्दै गर्दा पत्रकारितामा थप परिपक्व र अझै बढी जिम्मेवार भएको बताउनुभयो । त्यसलाई पत्रकारिता मार्फत पत्रिकाले आगामी दिनहरूमा प्रमाणित गर्दै जाँने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

 कार्यक्रममा भरतपुर महानगरपालिका १२ का वडा सचिव महेन्द्र बहादुर कार्की, धनगढा एकीकृत विकास समितिका निवर्तमान अध्यक्ष लेखराज पन्त "हरि", लक्की मिडिया हाउस चितवनका निर्देशक, युवा उधमी एवम् समाजसेवी हेमन्त केसी ‘हरि’, ई. भोजराज कौडेल, नेपाली काग्रेस पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ केन्द्रीय सदस्य चित्र बहादुर भण्डारी, दिनेश श्रेष्ठ "पासा" , कृण्ण कार्की, राजेश शर्मा आचार्य लगाएत नागरिक अगुवा , शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिकाले गत वर्षदेखि आफ्नो अनलाईन संस्करण मार्फत पनि सूचना , समाचार सम्प्रेषण गर्दै आएको छ ।

Monday, May 24, 2021

चितवन खबरको भित्तेपात्रो विमोचन

चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका र इ चितवन खबर डट कमको २०७८ को संयुक्त भित्तेपात्रो प्रकाशित भएको छ । भित्तेपात्रोको विमोचन भरतपुरमा एक कार्यक्रमका बिच पत्रिकाकी सम्पादक इन्दिरा पन्तले गरेकी छिन ।
विमोचन पछि बोल्दै पन्तले यस्तो विषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्रो प्रकाशन गर्न सफल भएको बताइन् । उनले विगत देखि नै स्थानीय स्तरमा पाठकको मन जित्न सफल भएको बताइन् ।
सो क्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की 'लक्की' ले कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न सरकारले गरेको लकडाउनको कारण नयाँ वर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसकेपनि पत्रिकाले आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह गरेको बताए ।
आगामी बर्षमा समेत आफ्ना नियमित प्रकाशनलाई निरन्तरता दिने बताउर्दै कार्कीले सधै आफ्ना पाठक, विज्ञापनदाता र शुभचिन्तकको साथ सहयोगको अपेक्षा समेत गरे । कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक हरि केसी, चितवन खबर पत्रिकाका प्रबन्ध निर्देशक कृण्ण कार्की, निर्देशक सुजन ओझा, स्तम्भ संयोजक प्रमुख जय पाठक (जेपी), व्यवस्थापक राजेश शर्मा आचार्यलगाएतको उपस्थिति रहेको थियो ।

Saturday, May 8, 2021

रत्ननगरको प्रशंसनीय काम : मेयर र उपमेयर चढ्ने गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान प्रयोग गरिने

चितवन २५ बैशाख । चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो । कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि मेयर नारायण वनले शुक्रवार नै आफु चढ्दै आएको सहित चारवटा गाडी संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका हुन ।
मेयर वनले चढ्दै आएको बा.२ झ ३३९९,उपमेर दुवाडीले चढ्दै आएको ना.१ झ १५८६,प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा.१२ च.२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा.२ झ १२१७ नम्बरको गाडी कोरोना संक्रमितलाई घरबाट आइसोलेसन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ । अब हाम्रा गाडीहरु एम्बुलेन्सका रुपमा प्रयोग गर्दै छौं मेयर वनले भने कोही पनि नगरबासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन । मेयर वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्न समेग आग्रह गरेका छन् । । छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको मेयर वनको भनाई छ ।
यस अघि रत्ननगरले कोरोना संक्रमितलाई अस्पताल लैजान निशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेके छ । होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीहरुले उपचार तथा रेखदेख गर्दै आएका छन् ।